२०८० मंसिर १६, शनिबार
 

सांस्कृतिक विविधता र एकिकरणको खाँचो ।

शंकर श्रेष्ठ

 

विकासको क्रम सामान्य हुँदैन । यसले लामो समय लिने गर्दछ । पृथ्वीको उत्पत्ति र विकासको इतिहास पनि निकै लामो र रोचक छ । मानवजातिको विकास आजभन्दा १० कारोड वर्ष पहिले भएको भन्ने वैज्ञानिकहरुको दावी छ । १० करोड वर्षको क्रमिक विकासको प्रतिफल नै आजको हामी हौं । यस अवधिमा मानिसहरुको बनोट, आचरण, स्वभाव तथा जिवनशैलीहरुमा व्यापक परिवर्तनहरु भएका छन् ।

माक्सले आदिम साम्यवादी युग, दास युग, सामान्ती युग, पूँजीवादी युग र समाजवादी युग  गरी मानव विकासलाई ५ चरणमा व्याख्या गरेको छन् । यी ५ चरणलाई मनन गर्ने हो भने यिनै चरणको क्रममा मानिसहरुले जिवनयापनका विधि र पद्धतीहरु विकास तथा परिमार्जन गर्दै आएका छन् । कुनै समयमा कुनै खास खास स्थानमा जिवनयापनमा आमुल परिवर्तनहरु भएका छन् ।

कुनै समयमा मानिसहरु एकांकी थिए । आफु बाहेक अरुको बारेमा वास्ता हुँदैन थियो, पशुपन्छी जस्तै । विस्तारै मानिसहरु समूहमा बस्न थाले अनि सामूहिकताको विकास हुँदै गयो । यसै क्रममा नेतृत्वको विकास हुँदै गयो र अधिकार, स्वमित्व तथा अधिकारका कुराहरु हुन थाले । आपसी हितका साथै एक आपसमा स्वार्थ तथा इष्र्या पनि विकास हुँदैगयो, फलस्वरुप विभक्त समाजको विकास भयो । यही विभक्त समाज विकासको क्रममा लवाई खवाई मानवीय धर्म, संस्कार, मूल्य मान्यता तथा विश्वासहरुको विकास हुँदै गयो । पृथ्वीको बनावट एकै प्रकृतिको छैन । हावापानी तथा भू¬–वनोटमा अनेकौ विविधता भएको कारण वनस्पती र जीवजन्तुहरुमा पनि विविधता पाइन्छ । स्थानको विविधताको कारण मानव जातिको विकासको क्रममा पनि कुनै खास खास स्थानमा फरक फरक तरिकाबाट मानिसहरुको रहन सहन, धर्म संस्कार तथा मुल्य मान्यताहरुको विकास भएका छन् ।

नेपालमा आजभन्दा करीव २ लाख बर्ष पहिला मानिसहरु बसोबास गर्न थालेको तथ्यहरुले बताउँछ । करीव १० हजार वर्ष पहिले नेपालमा आधुनिक बस्तीको विकास भएको बुझ्न सकिन्छ । मुुस्ताङ क्षेत्रमा ईशापूर्व आठौं शताव्दीमा नै मानवजातीको बसोवास भएको अनेकौं तथ्यहरु भेटिएका छन् । नेपालको इतिहासको अध्ययन गर्ने हो भने नेपालमा किराँतहरुले राज्यसत्ताको विकास गरेको, लिच्छवी वंशको उदय भएको र राज्यको विस्तार कोशी कर्णालीसम्म भएको पाइन्छ । यस्तै गोपाल, महिशपाल, शाक्यवंशी, मिथीला, बाइसे, चौबिसे जस्ता कयौं राज्यको स्थापना भएको नेपालको इतिहामा पाइन्छ । यिनै राज्यको विकास हुने क्रममा नेपालमा पनि धर्म संस्कृति, मुल्य मान्यता तथा रहनसहनको विकास भएका थिए । पूर्वमा किराँतीहरुको प्रभाव स्थापित थियो भन्ने अहिलेको राई लिम्वुहरुको धर्म सस्कृतिबाट बुझ्न सकिन्छ । यस्तै मिथिला क्षेत्रमा रहेका आदीवासीहरुले अहिले पनि मिथिला धर्म संस्कृतिलाई निरन्तरता दिएकै छन् । खास खास समयमा नेपालका विभिन्न स्थानमा फरक फरक राज्यसत्ताको विकास भएको थियो । राज्यसत्ता र धर्म तथा संस्कृति एक आपसमा परिपूरक रुपमा स्थापित भएका हुन्छन् । यसैले राज्यसत्ताको स्थापना र विकाससंगै उक्त स्थानको मानिसहरुको रहनसहन, बानीव्यहोरा, धर्म संस्कृतिमा प्रभाव पर्छ । यसैले नेपालमा फरक फरक स्थानमा फरक फरक समयमा स्थापना भएको राज्यसत्ताको कारण आजको दिनमा पनि नेपालमा फरक फरक धर्म, संस्कृति, रीतिरिवाज, मुल्य मान्यताहरु रहेका छन् ।

समयको कालखण्डमा नेपालमा एक पछि अर्को विभिन्न राज्यसत्ताको उदय भयो । यसै क्रममा सबैले आ– आफ्नो संस्कार, मुल्य मान्यता र विचारहरु स्थापित गरे तर एक छत्र आफ्नै मात्र संस्कार, मुल्य मान्यता र विचारहरु निर्मम् रुपमा लाद्न सकेनन् । सबै शासकहरुले संझौता गर्दै विगतका संस्कारहरुलाई पनि निरन्तरता दिंदै आए । यसैले आजको दिनसम्म पनि यहाँ धार्मिक, सास्कृतिक विविधता छ । अहिलेको आधुनिक नेपालको एकिकरण पृथ्वीनारायण शाहले गरेका थिए । उनले एकिकरणको क्रममा साना ठुला धेरै राज्यलाई एकै राष्ट्रको रुपमा स्थापित गरे तर धार्मिक तथा सांस्कृतिक एकीकरण गर्न सकेनन् । राजा एक, शासनसत्ता एक र देशको नाम पनि एक बनाउने ऐतिहासिक काम गरे सँगै जो जहाँ छन्, जसको जे धर्म संस्कृति छ त्यस लाई आत्मसाथ गर्दै एकीकरण भएको देखिन्छ ।

विश्वमा अधिकांश देशमा विभिन्न कालखण्डमा एकीकरणहरु भएका छन् । एक राज्यसत्ता पछि नयाँ राज्यसत्ताहरुको निर्माणहरु भएका छन् । यस क्रममा कतिपय देशहरुमा एकछत्र एउटै धर्म र संस्कृितको स्थापना भएका छन् । अधिकांश यस्ता देशहरु अहिले चरम विकासमा फड्को मारिरहेका छन् । यसरी अधिकांश देशबासीको एकै धर्म संस्कृति स्थापना गर्न ती देशहरुमा लामो धार्मिक युद्धहरु भएका छन्, सांस्कृितक क्रान्तिहरु भएका छन् । हाम्रो छिमेकी मुुलुक चीनमा माओले महान सांस्कृतिक क्रान्ति चलाएका थिए । यो क्रान्ति सन् १९६६ देखी १९७६ सम्म १० वर्ष चल्यो । यस अवधिमा चीनमा रहेका थुप्रै सामाजिक कुसंस्कृतिहरुमा प्रहार गरिए । परिवर्तनहरु पनि थुपै्र भए तर यस आन्दोलनले सामाजिक परिवर्तन भन्दा पनि बढि राजनैतिक प्रभाव पारेको थियो भन्ने तथ्यहरुले बताउँछ । यस आन्दोदनमा सांस्कृतिक परिवर्तनका योगदान भन्दा पनि बढि दुष्मनको सफाया गर्ने र राज्यसत्ता स्थापित गर्ने काममा बढि केन्द्रित भएको थियो । यसैको प्रभाव भारतको नक्सालवादीहरुमा देखियो र नक्सालवादी आन्दोलनको रुपमा विकास भयो । पछि यो आन्दोलन पनि छिन्नभिन्न भयो । नक्सालवादी आन्दोलनको प्रभावले नेपालमा झापा विद्रोह भएको भन्न सकिन्छ । झापा आन्दोलनमा पनि सांस्कृतिक क्रान्तिका कुराहरु भए तर यो विद्रोह सांस्कृतिक क्रान्तिमा परिणत हुन सकेन ।

आधुनिक नेपालमा जंगबहादुरले मुलुकी ऐन जारी गरी केही सांस्कृतिक एकीकरणको प्रयास गरेको देखिन्छ तर यस ऐनले विभेदकारी नीतिलाई प्रश्रय दिएकोले खासै प्रभाव पार्न सकेन । यसले वर्गीय र जातीय विभाजनमा खाडलको दुरी बढाउँदै लाने काम भयो । नेपाली काङ्ग्रेसले पनि समय समयमा सांस्कृतिक कुप्रथाहरुमा प्रहार गरेको देखिन्छ तर अहिलेसम्म सांस्कृतिक एकिकरणको कुनै काम गर्न सकेको छैन । बेलायती सामन्तको मुक्तिसँगै विकास भएको भारतको उदारवादी समाजवादलाई नजिकबाट अनुभव गरेका विश्वेश्वर प्रसाद कोईरालाले पनि उही नवउदारवादमा आधारित समाजवादको बखान गरे र केही सांस्कृतिक कुरीतिहरुमा प्रहार गर्ने काम गरे । एक अर्थमा भन्ने हो भने सत्ता प्राप्तीको निम्ती सांस्कृितक परिवर्तनका कुरा गरे फलस्वरुप नेपाली काङ्ग्रेसले अहिलेसम्म आफुलाई स्थापित गरिरहेको छ । नेकपा माओवादीले राज्यसत्ता प्राप्तीको लागी १० वर्षे सशस्त्र आन्दोलन ग¥यो । यस अवधिमा थुप्रै सांस्कृितक घटनाहरु भए । यसै अवधिमा अन्तरजातीय विवाहलाई अभियान नै बनाइयो । मठमन्दिरको पाठ पूजा देखि संस्कृत भाषामा आक्रमण गरियो । समाजमा स्थापित संस्कृति तथा परम्पराहरुलाई परिवर्तन गर्ने प्रयासहरु भए । तर यो आन्दोलनले स्पष्ट सांस्कृतिक परिवर्तन भनौ सांस्कृतिक एकीकरणको खाका दीन सकेन र आफैं संशोधनवादको भूमरीमा फसेर आन्दोलनलाई सम्झौतामा विसर्जन गर्न पुग्यो ।

वर्तमान नेपालको सीमाभित्र इतिहासका विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानवसमुदायले सृजना तथा अवलम्बन गरेर छाडेका हामीलाई जिम्मा लगाएर गएका भौतिक अभौतिक सम्पदाहरु र त्यस अनुरुपको जिवन शैलीको समष्टिगत रुप नै नेपालको राष्ट्रिय संस्कृति हो भनि नेपालको संस्कृति नीतिले व्याख्या गरेको छ । यस नीतिले आदिमकाल देखिको व्यख्या गरेको भएता पनि कहिले कहाँबाट यी संस्कृतिहरु आयातीत भए भन्ने कुराको व्याख्या गरेको छैन । साथै सांस्कृतिक एकीकरणका प्रयासहरुको बारेमा पनि बोलेको छैन । केवल हाल भएका संस्कृतिहरु जोगाइ राख्ने र यसलाई निरन्तरता दीने बारेमा बढि जोड दिएको छ । यहाँ हामीले प्रश्न गर्न सक्छौ, के परापूर्वकाल देखि मान्दै आएका संस्कृतिहरुलाई हुबहु जगेर्ना गर्नाले यति धेरै विविधता भएको संस्कृतिहरुले आधुनिक विश्ववजारमा हामीलाई विकसित मानव समुदायको रुपमा स्थापित गर्न सक्ला ? धर्म निरपेक्षताका नीति अवलम्वन गरी बनाएको संविधानलाई स्थापित गर्न यिनै राजनैतिक पार्टीहरुको अघोषित सहयोग र सद्भावमा विकास भइरहेको क्रिश्चियन धर्म र पश्चिमा संस्कृतिले नेपालमा सांस्कृतिक एकता स्थापित होला ? यो प्रकृयाबाट पक्कै हुँदैन । यसैले धर्म र संस्कृतिलाई भिन्न बनाएर नेपालमा यो विविधतामा रहेको बहु–संस्कृतिलाई एउटै सुत्रमा राख्न सक्ने एकीकरणको आवश्यकता छ । यस्तो एकीकरणले मात्र नेपाललाई विश्वमा विकसित मुलुक र समृद्ध नेपाल साथै सुखी नेपाली बनाउन
सक्छ । हामीले आधुनिक नेपालको महान एकीकरण कर्ता पृथ्वीनारायण शाहलाई सम्मानका साथ लिन्छौ । उनले काठमाडौंको बासिन्दा गोरखा या झापा जहाँ गएर बसोवास गर्न पाउने तथा त्याहाँको साधनश्रोतको उपभोग गर्न पाउने खालको देश एकीकरण गरेर गए तर सांस्कृतिक एकीकरण गर्न भ्याएनन् । अबको नेपालमा अर्को महान व्यक्तिको उदयको खाँचो छ जसले विद्यमान विविधखाले संस्कृतिलाई एकीकरण गरी एकछत्र सबैलाई मान्य हुने साझा संस्कृतीको विकास गरोस् । यसको निम्ती आवश्यक छलफलको सुरुवात गर्न आवश्य देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने