काठमाडौं – स्थानिय तह निर्वाचनमा विवेकशील साझा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेपछि नैतिकताका आधारमा रविन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएको कुरा धेरैनै चर्चा भयो। के रबिन्द्र मिश्रले साँच्चै नै नैतिकताकै आधारमा राजिनामा दिए त ?
राजीनामा दिएको कुरामा प्रवेश गर्नु अघि उनको दूरदर्शिताको बारेमा एउटा तत्थ्य राख्दा विषयले सान्दर्भिकता पाउला ।
२०७० सालमा विवेकशील नेपालीको चप्पलकारखानामा रहेको कार्यालयमा रबिन्द्र मिश्र सानो छलफलमा आएका थिए । छलफलको क्रममा उनले म कुनै पनि हालतमा राजनितीमा आउदिन तर मैले मेरो छोरालाई भने तयार गर्दै छु भनेका थिए। यो तत्थ्यको म प्रत्त्यक्ष साक्षी हुँ । विवेकशीलले चाहेमा यो भिडीयो कहि कतै सुरक्षित रहेको छ, खोज्न सक्छ ।
कुनै पनि हालतमा राजनितीमा नआउने कसम खाएका मिश्रले २०७३/७४ सालमा साझा पार्टी नै दर्ता गरे । यो बिचमा बाबुराम भट्टराईले पनि पार्टी खोले । मिश्र र मुमारामहरुले तयार पारेका दस्तावेज बोकी मिश्रलाई लात हान्दै मुमारामले बाबुरामलाई सहयोग गरेको कुरा पुकार बमले मलाई एकदिन सुनाएका थिए ।
रबिन्द्र मिश्र राजनितीमा आउनु नै थियो भने किन नयाँ दल नै दर्ता गरे ?यो कुरामा तत्कालिन समयमा उज्वल थापा र उनको टिमले नबुझ्नु सबै भन्दा ठूलो भूल थियो । रबिन्द्र मिश्रले उज्वल म पनि राजनितीमा आउने भए, मलाइ तिमीहरुले कसरी मिलाएर लैजान्छौ भनि प्रश्न गर्दा मिश्र उज्वलसामु झुक्न सकेनन् ।
नयाँ दल दर्ता गरी उज्वल सरह हैसियत बनाएर उज्वल थापा र टिमसँग अध्यक्ष मागेको कुरामा उज्वलका टिममले गहिरीएर सोच्नै सकेनन् । आफ्नै कार्यालयमा आएको बेला सँगै मिलेर जाउँ भनि गरीएको प्रस्तावलाई नमानेर म राजनितीमा आउदै आउन्न भनेको नेताले २/३ वर्षमा नै अर्को दल दर्ता गर्नुको उद्देश्य नबुझ्ने गोबिन्द नारायणहरु अहिले कुन दूलामा लुकेर बसेका छन् ?
एकदमै नयाँ दल भएकोले स्थानिय चुनावमा हारको कुरालाई लिएर मिश्रले राजीनामा दिएर कुनै नैतिकता देखाउनु जरुरी थिएन । यदि नैतिकता नै देखाउनु थियो भने, उज्वल थापासँग पार्टी एकता भएपछि ६ महिना भित्र पार्टी महाधिवेशन गर्ने भनि गरिएको घोषणा पुरा गर्न नसकेकोले नैतिकताको आधारमा त्यति बैला राजीनामा दीनुपर्थ्यो ।
स्थानिय चुनाव अघि मिश्रको पार्टी र रा.प्र.पा. मिल्नै लागेको जस्तो देखिन्थ्यो । तर के तत्वलेले हो यिनीहरुलाई मिल्न दिएन । अव मिश्र राजनितीमा अगाडी बढे भने रा.प्र.पा. बाट अगाडी बढ्न सक्छन् ।
सबै परिस्थीतिलाई बुझ्दा अवको चुनावले रा.प्र.पा. लाई निर्णायक शक्ति बनाउन सक्छ । तेस्रो दल भएर २०६४ पछिको माओवादी जस्तै सत्ताको वरीपरी भैरहने छ । यो परीस्थितीलाई परबाट नियाली रहेको शक्तिले अव मिश्रलाई रा.प्र.पा. मा प्रवेश गराउँछ ।
परबाट नियाली रहेका शक्तिले मिश्र मार्फत रा.प्र.पा. लाई खेलाउने छ । मिश्रले रा.प्र.पा. लाई तहस नहस गर्न पनि सक्छन् वा भित्र छिरेर शक्ति आर्जन गर्दै टाढाको शक्तिको एजेण्डाहरु स्थापीत गराउने छन् त्यो हेर्न बाँकी नै छ ।
जसरी उज्वल थापाको हुदा खाँदाको पार्टीमा मिश्र छिरेर भर्खरै यौवनमा प्रवेश गर्नै लागेको विवेकशीलको शक्तिलाई भिरको डिलमा लगेर खसाले त्यसरी नै रा.प्र.पा. लाई पनि खसाल्ने छन् समयमा नै यो कुरालाई तंग्रदै गरेको बाच्छोले ध्यान दीनु पर्ने देखिन्छ ।