


ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न गरेको छ । काठमाण्डौंको कमलादी स्थित प्रज्ञा भवनमा भएको साधारण सभाले आर्थिक वर्ष २०८१/२०८२ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश कर सहितको प्रस्ताव सर्वसम्मतिबाट पारीत गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले आर्थिक वर्ष २०८१।८२ मा रु. ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु. ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।
साधारणसभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गरेको बताउनु भयो ।
साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

