

काठमाण्डाै – आज १६ औं राष्ट्रिय सूचना दिवस, सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको दिन भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ।
नागरिक सशक्तीकरणका लागि जारी भएको ऐनको प्रयोग गरी सूचना माग गर्ने क्रम पछिल्लो समय बढिरहे पनि सूचना माग गर्नु र प्राप्त गर्नु संवैधानिक र कानुनी अधिकार भएको र यसले सुशासन कायम गर्न मद्दत पुग्छ भन्ने विषय आमनागरिकसम्म पर्याप्त रुपमा पुर्याउन नसकिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
१६ औँ सूचना दिवस मनाइरहँदा पनि सूचनाको हकको कार्यान्वयनको पक्षमा अपेक्षित उत्साह नदेखिनु सुखद नहुने भन्दै सबै सार्वजनिक निकायले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न-गराउन आयोगले आह्वान गरेको छ ।
सूचनाको हकजस्तो महत्वपूर्ण मौलिक हकको प्रचलन र संरक्षणका लागि सबै पक्षबाट राष्ट्रिय सूचना आयोगलाई नियमित रुपमा प्राप्त सुझाव र सहयोगप्रति आयोगले आभार व्यक्त गरेको छ । आफूलाई दिइएको जिम्मेवारीमा खरो उत्रने प्रतिबद्धतासहित आयोगके १६ औं राष्ट्रिय सूचना दिवसको अवसरमा सबैमा शुुभकामना व्यक्त गरेको छ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य र आधिकारिक सूचना मात्र प्रवाह गर्न आग्रह गर्नु भएको छ । सूचनाको हकको कार्यान्वयनबाट सुशासन कायम गरि नागरिकलाई सुसूचित र सक्षम बनाउन सकिनेमा पनि प्रधानमन्त्री देउवाको विश्वास छ ।

