

काठमाडौं – नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी बिद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी छिन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए ।
भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका थिए भने समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी रहेकी थिइन् । भुसाल सत्तागठबन्धन दलबाट उम्मेदवार बनेकी हुन भने भट्टराई विपक्षी दलबाट उम्मेदवार बनेकी हुन् ।
सभामुख अग्नि प्रसाद सापकोटाले मत विभाजनद्धारा निर्वाचन प्रक्रिया सम्पन्न गराएका हुन् । उम्मेदवारको पक्षमा रहनेलाई सभामुखको आशनको दायाँ तर्फको लबीमा गएर, विपक्षमा रहनेलाई सभामुखको आशनको देब्रेतर्फको लवीमा गएर र तटस्थ रहनेलाई सभामुखको आशनको पछाडिको लवीमा गई हस्ताक्षर गरेर मत जाहेर गर्न समय दिएका थिए ।
तत्कालीन नेकपाको सरकार बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएपछि अग्नि सापकोटालाई सभामुख हुन बाटो खोल्दै २०७६ माघ ६ गते डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी थिइन् । त्यसयता खाली भएकोमा झन्डै ३ बर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

