

मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार काठमाडौ आइपुगेकि छिन् । उनले पार्टी शीर्ष नेताहरुलाई भेट्ने कार्यसूची रहेको छ। संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल भ्रमणमा आएकी हुन्।
उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ।
उनी बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी हु्न्। नेपालमा दैनिक एमसीसीको विरोधमा प्रदर्शन भइरहेकाले विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो। करिब रु ६४ अर्बको सो परियोजनामा करिब रु ५१ अर्ब अमेरिकी र रु १३ अर्ब नेपाल सरकारको लगानी हुनेछ। दुई पक्षबीच सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच ‘कम्प्याक्ट सम्झौता’भएको थियो।
सम्झौतामा काठमाडौँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ।
यसैगरी पूर्वपश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्म कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ। बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिने पनि जनाइएको छ।
प्रधानमन्त्री देउवालाई सुमारले शुक्रबार अपरान्ह भेट गर्ने कार्यतालिका तय भएको सचिवालय स्रोतले जनाएको छ। सुमारले पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेताबाट सुरु गर्ने तयारी रहेको छ। बालकोटस्थित ओलीकै निवासमा पुगेर उनले भेट गर्ने जनाइएको छ।

