

एजेन्सी,
युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति भएको समूह ‘इ र एफ’का खेलपछि नकआउट चरणमा पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो ।
समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् । समूह ‘एफ’बाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेता बन्दै छनोट हुँदा पोर्चुगल पनि तेस्रो मध्ये उत्कृष्ट हुँदै नकआउटमा पुगेको छ । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
यसअघि नै समूह ‘ए’ बाट इटली र वेल्स, समूह ‘बी’ बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’ बाट नेदरल्याण्ड्स र अष्ट्रिया तथा समूह ‘डी’ बाट इंग्ल्याण्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै तेस्रो हुने मध्येबाट स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।
साविक विजेता पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर वान बेल्जियमसँग खेल्नेछ भने पूर्व च्याम्पियन जर्मनीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार टिमहरु पोर्चुगल, बेल्जियमसँगै इटली, फ्रान्स र स्पेन एउटा पुलमा छन् । यी टिमहरु मध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् । यस्तै जर्मनी, इंग्ल्याण्ड, नेदरल्याण्ड्स अर्को पुलमा छन् ।
अब प्रिक्वाटरफाइनल अर्थात नकआउट चरणका खेलहरु दुई दिनपछि अर्थात शनिबारदेखि सुरु हुनेछन् ।
अन्तिम १६ मा भिड्ने टिमहरुः
वेल्स भर्सेल डेनमार्क – असार १२ गते
इटली भर्सेस अष्ट्रिया – असार १२ गते
नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल असार – १३ गते
क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्याण्ड – असार १४ गते
इंग्ल्याण्ड भर्सेस जर्मनी – असार १५ गते
स्वीडेन भर्सेस युक्रेन – असार १५ गते

