

एजेन्सी,
एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडलाई पराजित गर्दै स्पेनिस लिगको उपाधि जितेको छ । शनिबार निर्णायक मानिएको खेलमा एक गोलले पछाडि परेको अवस्थामा एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गर्दै स्पेनिस लिगको उपाधि उचालेको हो । एट्लेटिकोलाई जिताउन लुइस स्वारेजले निर्णायक गोल गर्नुभएको थियो ।
अन्तिम खेलमा जित हात पारेमा मात्र एट्लेटिकोको उपाधि निश्चित हुने थियो । अन्यथा एट्लेटिकोको सहरी प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडले उपाधि जित्ने थियो । ओस्कार प्लानोको गोलमा भालाडोलिडले १८ औं मिनेटमा अग्रता लिएको थियो ।
एन्जल कोरिआले एकल प्रयासमा गरेको सानदार गोलबाट एट्लेटिकोले ५७ औं मिनेटमा खेल बराबरीमा ल्यायो । त्यसको १० मिनेटपछि स्वारेजले गरेको गोल निर्णायक बन्यो । ३८ खेलको समाप्तिमा एट्लेटिकोको ८६ र रियलको ८४ अंक रहयो । एट्लेटिकाले सन् २०१४ पछि पहिलो पटक स्पेनिस लिगको उपाधि जितेको हो ।
रियल र बार्सिलोनाको वर्चस्वमा डिएगो सिमोनीले आफ्नो एक दशक म्याड्रिड बसाइका क्रममा एट्लेटिकोलाई दोस्रो पटक लिग च्याम्पियन बनाएका हुन् । एट्लेटिको कुल ११ औं पटक लिग च्याम्पियन बनेको हो । डिसेम्बरदेखि नै एट्लेटिकोले लिगमा अग्रता बनाइरहेको थियो र त्यसलाई अन्तसम्मै कायम राख्यो ।
अक्टोबर १७ यता पहिलो पटक लिगको शीर्षस्थानमा पुग्ने रियलको आशामा स्वारेज तगारो बने । गत साता ओसासुनासँग रोकिन लागेको अवस्थामा ३४ वर्षे स्वारेजले नै एट्लेटिकोबाट विजयी गोल गरेका थिए । बार्सिलोनाबाट यसै सिजन आएका उनले ३२ खेलमा २१ गोल गरे । स्पेनमा ७ सिजन बिताइरहेका उनले व्यक्तिगत छैटौंपल्ट ला लिगाको उपाधि उचालेका हुन् । एट्लेटिकोसँग पराजित भालाडोलिड रेलिगेसनमा परेको छ ।
अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २(१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो । तर दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात पार्यो ।
एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । एट्लेटिकोले ११औं पटक ला लिगा उपाधि जितेको हो । रियलले भने २००९/१० पछि यस सिजन कुनै पनि ट्रफी जित सकेन । यसअघि नै उपाधि हवडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा आइबरलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा लिग सकाएको छ ।

ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडका खेलाडीको उत्साह । तस्बिर साभारः एपी
