

मेलम्ची,
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका क्षेत्र भित्रका अधिकांश क्रसरहरु नदिजन्य पदार्थ उत्खनन् मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । नगरपालिकाले विहीबार ८ वटा क्रसरको अनुगमन गर्दा अधिकांश मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो ।
अनुगमनका क्रममा मेलम्ची १३ फटकशिलामा सञ्चालित एकोन क्रसर एग्रिगेट प्रा.लि.ले मापदण्ड विपरीत पोखरीहरु निर्माण गरी उत्खनन् गरेको पाइएको उहाँको भनाइ छ । त्यस्तै मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रा.लि.ले नदिको धार नै परिवर्तन गराई अत्यधिक गहिराईमा उत्खनन् गरेको भेटिएको छ । मापदण्ड विपरीत उत्खनन कार्यमा प्रयोग भएका उक्त क्रसर उद्योगका एक्साभेटरहरु नियन्त्रणमा लिई ५० हजार रुपैयाँसम्म दण्ड जरिवाना गर्ने निर्णय गरिएको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो ।
यस्तै तिनपिप्ले निर्माण सेवा, सोना क्रसर उद्योग प्रा.लि. जाल्पा इन्फ्रास्ट्रक्चर प्रा.लि. र पाल्चोकीमाई रोडा ढुङगा उद्योग प्रा.लि.ले मापदण्ड भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएपछि बैशाख १८ गते भित्रमा बढी उत्खनन् भएको ठाउँका खाल्डा खुल्डी पुरी सक्न निर्देशन दिइएको अनुगमन समितिका सदस्य इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै गंगा इन्द्रावती क्रसर उद्योग प्रा.लि. र जाल्पा इन्फ्रास्ट्रक्चर प्रा.लि.लाई नदिजन्य पदार्थ उत्खनन्मा हाललाई प्रतिबन्ध लगाइनुका साथै अनुगमनका क्रममा एकमात्र पाल्चोकमाई इन्फ्रास्ट्रक्चर प्रा.लि.ले मापदण्ड भित्र रहेर नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएको उहाँको भनाई छ ।
हिउँदमा मापदण्ड विपरीत उत्खनन् हुने र वर्षायाममा नदिबाट बालुवा लगायत नदिजन्य पदार्थको अबैध रुपमा चोरी निकासी बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणको लागि तयारी थालेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।
मेलम्ची क्षेत्रका धेरैजसो क्रसरहरुले नियम विपरीत नदीको धार नै परिवर्तन हुने गरी नदिजन्य पदार्थ उत्खनन् गर्नाले यहाँका सयौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाईको अभाव हुने गरेको र वातावरणमा समेत नकारात्मक प्रभाव परेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
नगरप्रमुख डम्बर अर्याल, उपप्रमुख भगवति नेपाल, सम्बन्धित वडाअध्यक्ष लगायत सुरक्षाकर्मी तथा पत्रकारहरुको संयुक्त टोलिले नगरक्षेत्रभित्र सञ्चालित ८ वटा क्रसरहरुको अनुगमन गरेको थियो ।


