

काठमाडौं,
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा सुरु भएको छ ।संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकले बैशाख १६ गतेदेखि १५ दिनसम्म उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
त्यसअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गते विहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् ।
अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका सवारी साधनहरु फाट्टफुट्ट चलेका देखिन्छन् । कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय सार्वजनिक भएलगत्तै धेरै व्यक्तिहरु गाउँ फर्किएका छन् ।
निषेधाज्ञा अवधिमा के के गर्न पाइन्छ ?
विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइने छ । दुवै पक्षले विवाहको ब्यानरसहित दुई वटासम्म गाडी प्रयोग गरी आउजाउ गर्न सक्ने छन् ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइने छ ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवं डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधन सञ्चालन गर्न पाइने छ ।
सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको पास लिएर सवारीसाधन प्रयोग गर्न पाउने छन् । विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइने छ ।
अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासका आधारमा गाडी प्रयोग गर्न पाइने छ । डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
बैंक तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ ।
पत्रकारहरुको हकमा सूचना विभागले जारी गरेको प्रेस पास वा सम्बन्धित प्रतिष्ठान वा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आउ–जाउ गर्न दिइने छ ।
के के गर्न पाइँदैन ?
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न रोक लगाइएको छ ।
अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन र अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन पाइने छैन । अघिल्लो वर्ष रेष्टुरेन्टहरुले ‘टेकअवे’ सेवा दिन पाउने व्यवस्था भए पनि यसपालि जिल्ला प्रशासन कार्यालयहरूको आदेशमा यो विषयबारे केही उल्लेख गरिएको छैन ।
उल्लंघन गरे के सजाय हुन्छ ?
निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । संक्रामक रोग ऐनमा अधिकृत व्यक्तिहरुलाई काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।
यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

