

काठमाडौं,
पानी परेपछि डढेलो सँख्यामा कमी आएकोमा अहिले फेरी तीव्र रुपमा डढेलो फैलिइरहेको छ । अहिले लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको प्रदेशका जिल्लाहरुमा ठूलो सँख्यामा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । आइतबार साँझदेखि सोमबार विहानसम्म देशभरका ५३ जिल्लाका ३ सय ४९ स्थानमा डढेलो लागिरहेको छ ।
अहिले सबैभन्दा बढी डढेलो डोटी, बर्दिया र बाँकेमा देखिएको छ । डोटी र बर्दिया जिल्लामा समान २३ स्थानमा र बाँकैको २१ स्थानमा डढेलो लागिरहेको विभागले जनाएको छ । त्यसपछि डडेल्धुरा र सल्यानमा समान १८, मकवानपुर र ओखलढुगामा समान १४, सुर्खेत र सिन्धुलीमा समान १३ स्थानमा डढेलो लागिरहेको विभागले जनाएको छ ।
डढेलोको मुख्य जोखिम हुने समय फागुनदेखि जेठसम्म हो । प्रिमनसुनको समय सुरु भइसके पनि पानी पार्ने प्रणाली भित्रिन ढिलाइ हुँदा डढेलोको जोखिम अरू बढ्ने देखिन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा वन डढेलो नियन्त्रणका लागि पूर्वानुमान वा पूर्व रोकथाममा ध्यान नदिँदा नियमित रूपमा डढेलो लाग्ने गर्छ । केही जिल्लामा डढेलो रोकथामका लागि पूर्वतयारी जस्तै अग्निनियन्त्रण रेखा निर्माण, नियन्त्रित डढेलो, तालिम, प्रचार प्रसारजस्ता कार्यक्रमका लागि केही बजेट विनियोजन भए पनि त्यसले सोचेजस्तो प्रतिफल भने दिएको देखिँदैन ।
नेपालमा विशेषगरी तराई र पहाडी क्षेत्रमा रहेका चौडापाते र कोणधारी वनमा पूर्व मनसुनको समय पारी बर्सेनि डढेलो लाग्ने गर्छ । एउटा सानो वन डढेलोले असंख्य क्षति पुर्याइरहेको हुन्छ, जुन हामीले गरिने हिसाबभन्दा कैयन् गुणा ठूलो हुने गर्छ । यसले वनमा रहेका ठूला तथा मूल्यवान् रूख, साना बिरुवा र पुनरुत्पादनलाई नोक्सानी पुर्याई सरलरूपमा आपूर्ति भएको वनबाट प्राप्त हुने सेवा तथा वस्तु आपूर्ति चक्रलाई ध्वस्त बनाउँछ ।
यसरी वन डढेलोले वनमा रहेका अमूल्य तथा दुर्लभ वनस्पति एवं महत्वपूर्ण जडिबुटीको हानि गरी पारिस्थितिकीय प्रणाली, जैविक विविधता लगायतमा मात्र नभई आर्थिक दृष्टिकोणले समेत नोक्सानी गर्ने गर्छ ।

