

काठमाडौं,
सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) झण्डै २ वर्षपछि आज काठमाडौंमा सार्वजनिक हुनुहुने भएको छ । प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे हुने सहमति सार्वजनिक कार्यक्रममा विप्लव सार्वजनिक हुन लाग्नु भएको हो ।
विप्लव काठमाडौं आइसक्नु भएको नेकपाले जनाएको छ । सहमति सार्वजनिक गर्ने समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा सरकारी वार्ताटोलीका संयोजक डा। राजन भट्टराईले जानकारी दिनुभयो ।
सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने उहाँको भनाइ छ । समारोहमा सरकार र विप्लव समूहले हतियार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिने अनुमान गरिएको छ ।
सरकार र विप्लव समूहबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको उल्लेख छ । सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ । हिंसात्मक गतिविधिमा लागेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिनु भएको छैन ।

