

काठमाडौं,
नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड १९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोपको पहिलो खेप आइतबार एयर इन्डिया दिल्लीको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आइपुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । खोपको दोस्रो खेप पनि केहिदिन भित्रै नेपाल आइपुग्ने उहाँको भनाइ छ ।
खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ‘कोल्डरुम’मा लगिएको मन्त्रालयले जनाएको छ । फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने प्रवक्ता गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकता दिइनेछ । माघ ८ गते १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । जस अनुसार पहिलो चरणको खोप अभियान सञ्चालन सञ्चालन गरेको थियो ।
पहिलो चरणमा ४ लाख भन्दा बढीलाई खोप लगाउँदा सुरक्षित भएको पाइएकोले ढुक्क भएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

