२०८३ बैशाख १८, शुक्रबार
 

अस्थिरताको चक्रव्यूह तोड्न चुनाव: प्रधानमन्त्री

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको चक्रव्यूहलाई तोड्न चुनाव घोषणा गरिएको बताउनुभएको छ । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित साहित्यिक तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘बढो गम्भिर ढंगले, परापूर्वकाल देखिका अनुभवहरु संगालेर चक्रव्यूहको निर्माण गरिरहेका थिए । त्यो चक्रव्यूहको अन्तिम समयमा त्यो तोडियो’, उहाँको भनाई थियो ।

प्रतिनिधिसभा विघटन पश्चात दर्ता गराइएको अविश्वासको प्रस्तावले तयारी कस्तो रहेछ भन्ने कुरा देखाउने भनाई पनि प्रधानमन्त्रीको थियो । ‘बहुमतको पार्टी फुटाउने चक्रव्यूह थियो त्यहाँ । पार्टी फुटाउने र अल्पमतका टुक्राहरु जोडेर, महेन्जोदारो र हरप्पा उत्खनन् गरिएका टुक्राहरु जोडेर अस्थिरताको एउटा लहर सृर्जना गर्ने’, उहाँले भन्नुभयो । यसकार्यमा देशलाई अस्थिरताको भूमरीमा हरारहेको कुहिराको काग बनाएर रुमल्याउने उद्देश्य निहित रहेको भनाई पनि प्रधानमन्त्रीको थियो । ‘यि प्रयासहरुलाई सफल हुन दिइएन र फेरि ताजा जनादेशमा जानु प¥यो । संविधान काहाँ नेर मिचियो ?’, प्रधानमन्त्रीको प्रश्न छ ।

चुनावले लोकतन्त्रलाई ताजापन दिने समेत प्रधानमन्त्रीले बताउनुभयो । आफू झगडिया जस्तो जे सुकै कुरामा मुद्दा हाल्दै हिँडने नभई परिणाम बेहोर्ने र फेरि अघि बढने व्यक्ति भएको पनि उहाँले बताउनुभयो । ‘जुनसुकै बाटो गए पनि लोकतन्त्रलाई तलमाथि पर्न दिइँदैन’, प्रधानमन्त्रीले भन्नुभयो । निर्वाचन गराउने जिम्मेवारी पाएका निकायबाट जनताले थाहा पाउने गरी निर्वाचनको तयारी हुनु पर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो ।

देशको स्वाधिनता व्यवहारिक रुपमै कार्यान्वयन गरिनुपर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्रीले भौगोलिक अखण्डतालाई कायम राख्न देशको भूमि सग्लो रुपमा आफ्नो गराइने पनि बताउनु भयो । ‘राष्ट्रवाद हात्तिको देखाउने दाँत होइन । राष्ट्रवाद चिप्लेकीराको सिंङ जस्तो मौका मिले देखाउने र नमिले भित्र लुकाउने हुुँदैन। राष्टवाद एउटा निष्ठा र कर्तव्य हो’ , उहाँले भन्नुभयो ।

विगतमा राजनीतिक स्वार्थ पूरा गर्न जात, भाषा, धर्म र भूगोलका नाममा जनतालाई एक आपसमा भिडाउन खोजिएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुुभयो । यस्ता प्रयास हिजो सन् १९९० को दशकमा रुस, पुर्वीयुरोप र अफ्रिकी देशहरुमा गरिएको र कतिपय देशमा विनास समेत देखिएको भनाई प्रधानमन्त्रीको थियो । यो बहुजाती, बहुभाषा र बहुआस्था भएको देशलाई एकतामा बाँध्छौं र लोकतन्त्रलाई सृदृढ गराउने बाटो तर्फ लाग्छौं’, प्रधानमन्त्रीले थप्नुभयो । यसबाटो बाट मुलुकलाई हिँडन नदिने र आफूले भने जस्तो भएन भने ‘यसो वा उसो गरिदिन्छौं’ भनेर तर्साउन र धम्क्याउने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । ‘कोही भन्छन्, न्यायाधिशलाई घिसारेर सडकमा ल्याउँछु, मैले तिनै मान्छेबाट मौका परेका बेला शक्ति पृथकीकरणको सिद्धान्त तथा न्यायपालिकाको सम्मान र गरिमाको व्याख्या सुनेको छु । फेरि तिनै मान्छे ‘मैले सम्मानित सर्वोच्च अदालतको अपहेलना गरेँ’ भनेर मुद्दा लिएर जान्छन्’, उहाँको भनाई थियो ।

आफ्नो उद्देश्य दम्भ देखाउनु नभई सामाजिक न्याय र समानता एवं एकतामार्फत जनताले सम्मानपुर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नु रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली‘ लाई कतिपयले स्वीकार्न नसकेको पनि प्रधानमन्त्रीले बताउनुभयो । यो परापुर्व कालदेखिकै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ कै रुप भएको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्रीले प्रज्ञा प्रतिष्ठान तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित राष्ट्रिय समृद्धि यात्रामा युवावर्गको दायित्व’ विषयक राष्ट्रव्यापी निबन्ध प्रतियोगिता तथा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठान र साँस्कृतिक संस्थानले देशभक्ति पूर्ण तथा देशको विविध साँस्कृतिक सम्पदा झल्काउने गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten − 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने