

काठमाडौं,
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन विहीबार देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७ सय ३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिनु भएको हो ।
प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, र बागमती प्रदेशमा ११ हजार ४ सय ६१ जनाले खोप लगाएका छन् । त्यस्तै गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप लगाएको प्रवक्ता गौतमले बताउनुभयो ।
प्रवक्ता डा. गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको पनि जानकारी दिनुभएको छ । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए ।
देशभरका खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मीलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई पहिलो चरणमा खोप लगाउने लक्ष्य सरकारको छ ।


