

काठमाडौं,
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) बाँडफाँट आज हुँदैछ । शेयर विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार प्रिएलटमेन्ट सकिएपछि आज बिहान १० बजे बाँडफाँट गर्न लागिएको हो ।
७ करोड ५७ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन खुलाइएकोमा आईपीओमा १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन दिएका हुन् । जसमध्ये १४ लाख ७५ हजार आठ आवेदकको १६ करोड ७२ लाख १० हजार कित्ता आवेदन भेरिफाइड भएको एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख रामकुमार महतले जानकारी दिनुभयो ।
धितोपत्र निष्कासन तथा बाँडफाड नियमावलीअनुसार सबैलाई बराबर बाँडफाँड गर्नुपर्ने व्यवस्था छ । ५० कित्ताभन्दा कम शेयरका लागि आवेदन दिनेहरुलाई मागेजति र ५० कित्ता वा सोभन्दा बढीको आवेदन दिने आवेदकले भने न्यूनतम ५० कित्ता सेयर पाउने देखिन्छ ।
बैंंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

