

एजेन्सी,
भारत सरकारले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरूलाई खोप लगाउने भएको छ । कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाएको स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले जानकारी दिनुभएको छ । शनिबार राजधानी नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा उहाँले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरूलाई खोप लगाउने बताउनु भएको हो ।
‘पहिलो चरणमा कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी र अग्रमोर्चामा खटिएकालाई निःशुल्क दिइनेछ । बाँकीलाई कसरी खोप लगाउने भन्ने टुंगो लाग्न बाँकी छ,’ डा. बर्धनले भन्नुभएको छ, ‘खोप प्रयोगका लागि अनुमति दिन तोकिएको मापदण्ड पूरा गरिने भएकाले सरकारले कुनै सम्झौता गर्ने छैन ।’
भारत सरकारले यसअघि नैं आगामी जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । विशेष खोप अभियानका लागि करिब १ लाख जनालाई तयारी अवस्थामा राखिएको जनाइएको छ । उत्पादनस्थलदेखि पहिलो चरणमा खोप लगाइने केन्द्रसम्म खोपलाई चाँडोभन्दा चाँडो पुर्याउन कार्गो जहाजदेखि भ्यानसम्म तयारी अवस्थामा राखिएको छ ।
उक्त तयारीको परीक्षण गर्न शनिबार देशभरि नैं खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो । स्वास्थ्यमन्त्री हर्ष बर्धनले शनिबार त्यही ‘ड्राई रन’ को स्थलगत अनुमगन गरेका थिए । यसैगरी दिल्ली सरकारले पनि सबै दिल्लीवासीलाई खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार नैं दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले त्यस्तो घोषणा गर्नुभएको हो ।
भारतमा दुईवटा कोरोना खोपको अनुमति प्रक्रिया अन्तिम चरणमा छ । शनिबार मात्र हैदरबादको कम्पनी भारत बायोटकद्वारा उत्पादन गरिएको कोभिड खोप कोभ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले शनिबार साँझ त्यस्तो सिफारिस गरेको हो ।
शुक्रबार अनुमति पाएको कोभिसिल्डको उत्पादक भारतीय कम्पनी सेरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार सेरमले अक्सफोर्ड–अस्ट्राजेनेका ५ करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको छ । र, कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी कोल्ड स्टोरको चेनको व्यवस्था गरिसकेको जनाएको छ ।
कोरोना महामारीलाई चाँडोभन्दा चाँडो नियन्त्रण लिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि नयाँ विकसित खोपको आपत्कालीन अनुमति दिन सक्ने निर्णय गरेको थियो । डब्लूएचओको उक्त निर्णयपछि नै फाइजरद्वारा उत्पादित खोपले त्यस किसिमको अनुमति पाएको थियो । अनुमति फाइजर खोपको प्रयोग अमेरिका र युरोपमा सुरु भइसकेको छ । तर, उक्त खोपको भण्डारण अत्यन्त चिसो वातावरणमा गर्नुपर्ने भएकाले नेपालजस्ता कम विकसित मुलुकका लागि उपयोगी नहुने विशेषज्ञहरूले टिप्पणी गर्दै आएका छन् । तर, सेरमद्वारा उत्पादित खोपलाई फ्रिजमा २ देखि ४ डिग्रीमा मात्र पनि भण्डार गर्न सकिने बताइएको छ ।

