

काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल बिस्तार र पुनर्गठन गरेर २५ सदस्यीय बनाउनु भएको छ । आठ मन्त्री र एक राज्यमन्त्री थप्नुका साथै एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएपछि ओली सरकारमा मन्त्री र राज्यमन्त्री गरी २५ जना पुगेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री ओलीले ८ मध्ये आफूलाई साथ दिने ५ जना पूर्वमाओवादी नेताहरुलाई समेट्नु भएको छ ।
संसद् विघटनपछि नेकपा विभाजनमा ओलीलाई साथ दिएका रामबहादुर थापा पहिला नैं गृहमन्त्री हुनुहुन्छ । यसबाहेक अन्तिम समयमा साथ दिएका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले मन्त्री बनाउनु भएको छ ।
नेकपा विभाजनपछि दाहाल र नेपालले अगाडि बढाएको पार्टीमा दुई अध्यक्ष भएकोमा लिखित असन्तुष्टि राखेका साह पनि मन्त्री बन्नुभएको छ ।



